सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका भित्र पर्ने हुलाकी राजमार्गको निर्माण कार्य पटक–पटक आश्वासन मात्रमा सीमित भएपछि स्थानीयवासी पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
सामाजिक सेवा सहयोगी समिति, सर्लाहीका संयोजक सोहन झाले बिहीबार प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्माण कार्य भदौ २७ गतेसम्म सम्पन्न नभए भदौ २८ गतेदेखि अनिश्चितकालीन रूपमा हुलाकी राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन्।
पत्रमा ठेकेदारसहित सम्बन्धित निकायले समयमा सडक निर्माण नगर्दा मलंगवा नगरपालिका भित्र र बाहिर आवतजावत गर्ने सर्वसाधारणको दैनिकी कष्टकर बनेको उल्लेख छ।
यसअघि पनि स्थानीयवासीले धुलो र धुवाँको कारण बाटो अवरुद्ध गर्दै आन्दोलन गरेका थिए। त्यसबेला प्रहरी प्रशासनले ठेकेदारलाई एक हप्ताभित्र निर्माण कार्य अघि बढाउने आश्वासन दिए पनि अहिलेसम्म काम नगरेको स्थानीयको गुनासो छ।
“जिल्ला प्रशासन कार्यालयजस्तो प्रमुख कार्यालय रहेको ठाउँमै बाटो निर्माण नहुनु दुर्भाग्यपूर्ण हो,” ध्यानाकर्षण पत्रमा भनिएको छ।
सामाजिक सेवा सहयोगी समितिको भनाइमा, पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएकाले अब आन्दोलनबाहेक विकल्प नरहेको स्पष्ट पारिएको छ।