जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहटको आयोजनामा चन्द्रपुरमा भूमि विधेयक विरुद्ध वृहत् विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ ।
चन्द्रपुर चौकबाट सुरु भएको विरोध र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । विरोध सभामा जसपाका नेता तथा कार्यकर्ताहरूले सरकारले ल्याएको भूमि विधेयकले भूमिहीन, सुकुम्वासी र किसानहरूको अधिकार हनन गर्ने आरोप लगाएका छन् ।
वक्ताहरूले भूमि विधेयकले सुकुम्वासीहरूलाई बसोबास गरेको स्थानबाट विस्थापित गर्ने, भूमिमाथिको उनीहरूको अधिकार खोस्ने र दलाल तथा भूमाफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गरे ।
उनीहरूले तत्काल विधेयक खारेज गर्नुपर्ने र वास्तविक भूमिहीनलाई उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । विरोध सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जसपाले भूमि विधेयकको विरोध गर्दा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप समेत लगाए ।
उनले विधेयक जस्ताको त्यस्तै पारित भए गौचरण, बन जङ्गल लगायत केही पनि सुरक्षित नहुने बताउँदै जसपाले यसको सधैँ विरोध गर्ने बताए । नेताहरूले सरकारले जनविरोधी कदम चालेको भन्दै यस्ता विधेयक विरुद्ध थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले भूमि विधेयक सच्याएर मात्रै सरकारले अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।