प्रादेशिक अस्पताल मलंगवामा विश्व रक्तदाता दिवस २०२५ भव्य रूपमा मनाइयो

newsdesk

— “रक्त दिनुहोस्, आशा दिनुहोस्: सँगै हामी जीवन बचाउँछौं” नारासहित रक्तदान कार्यक्रम सम्पन्न

मलंगवा, सर्लाही — विश्व रक्तदाता दिवस २०२५ को अवसरमा आज प्रादेशिक अस्पताल मलंगवामा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

"रक्त दिनुहोस्, आशा दिनुहोस्: सँगै हामी जीवन बचाउँछौं" भन्ने नारासहित आयोजित कार्यक्रममा सुरक्षित, स्वेच्छिक तथा नियमित रक्तदानको महत्वका विषयमा जनचेतना फैलाउने उद्देश्य लिइएको थियो।

कार्यक्रमको आयोजना प्रादेशिक अस्पताल मलंगवाको नेतृत्वमा गरिएको हो भने कार्यक्रमको सहजीकरण क्लिनिकल कोअर्डिनेटर डा. सचिन यादवले गर्नुभएको थियो।

उक्त कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष श्री सतीश कुमार शाह प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रधान मेडिकल सुपरीटेन्डेन्ट डा. सञ्जीव कुमार सिंहले गर्नुभएको थियो।

उद्घाटन सत्रमा वक्ताहरूले रक्तदानलाई मानवता र सेवा भावको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरे। उनीहरूले भने, “रक्तदान एउटा सानो प्रयास हो, जसले धेरैको जीवन जोगाउन सक्छ।”

डा. सिंहले नियमित रक्तदानको आवश्यकता झनै बढ्दो रहेको उल्लेख गर्दै प्रादेशिक अस्पताल मलंगवामा दैनिक रूपमा आकस्मिक, प्रसूति, शल्यक्रिया तथा सघन उपचार कक्षहरूमा रगतको खपत भइरहने जानकारी दिनुभयो। उहाँले स्वेच्छिक रक्तदाताहरूको योगदानलाई 'जीवनदाताको रूपमा सम्मान' गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा अघिल्ला तथा हालका नियमित रक्तदाताहरूलाई सम्मान गरिएको थियो। साथै, नयाँ रक्तदाताहरूलाई पनि प्रोत्साहन गर्न विभिन्न प्रेरणात्मक वक्तव्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको अन्त्यसम्ममा झण्डै ७० युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी, स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि र समुदायका रक्तदाताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

अन्त्यमा आयोजक टोलीले यस्तो अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै रक्तदानलाई संस्कृतिको रूपमा विकास गर्ने अपिल गरेका थिए।

प्रतिक्रिया