सर्लाही ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीले प्रहरी नायब निरीक्षक सुभाष यादवलाई २०७८ साल असार महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषणा गरेको छ ।
२०७८ साल असार ३२ गते सशस्त्र प्रहरीको टोलीसहित गस्तीमा खटिएका यादवले चेकजाँचका क्रममा २२० के.जी. (मूल्य रु. १२,३०,००० बराबरको) काजु लुकाइछिपाई राखिएको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका थिए।
त्यसका साथै उनले सोही अवधिमा रु. ३,४५,४५७ बराबरको तस्करीजन्य सामानहरू—जस्तै इलेक्ट्रोनिक्स सामान, हाइड्रो–पार्ट्स, लत्ताकपडा, सुपारी, औषधि, मिष्ठान्न, र अन्य उपभोग्य सामग्रीहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन्।
यादवले भारततर्फका नाकामा हुने गैरकानुनी कारोबार, तस्करी तथा आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न उच्च सतर्कता अपनाएका छन्। अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समुदाय–मैत्री प्रहरी सेवामा समेत सक्रिय रहेका कारण उनलाई सम्मान गरिएको हो।
प्रहरी स्रोतका अनुसार यादवले समुदायमैत्री प्रहरी सेवा, सुसूचित गस्ती, अपराध नियन्त्रण, सूचनाको भरमा कारवाही, तथा अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
यिनै सफलताका आधारमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रमाणपत्रद्वारा सम्मानित गरेको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काद्वारा हस्ताक्षरित प्रशंसापत्रमा यादवको कार्यलाई “उच्च प्रशंसायोग्य” बताइएको छ।