रौतहट, ११ भदौं । चोरी भएको मोटरसाइकलमा जडान गरिएको जीपीएसको लोकेसन पछ्याउँदै प्रहरी रौतहटको कटहरिया नगरपालिका–५ स्थित एक शाखा अधिकृतको घरसम्म पुगेर मोटरसाइकल बरामद गर्न सफल भएको घटना सार्वजनिक भएका छन् ।
प्रहरीले घरभित्र लुकाएर राखिएको अवस्थामा चोरीको मोटरसाइकल बरामद गर्नुका साथै शाखा अधिकृतका १४ वर्षीय छोरासहित दुई जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त टोलीले जीपीएसको लोकेसनका आधारमा बुधबार बिहान करिब ६ बजे फतुवा विजयपुर नगरपालिकामा कार्यरत शाखा अधिकृत हरेन्द्रप्रसाद यादवको कटहरिया नपा–५ स्थित घरमा छापा मारेको थियो ।
छापा मार्दा घरभित्र प्रदेश २–०३–००७ प ३६०० नम्बरको २२० सीसी पल्सर मोटरसाइकल फेला परेको प्रहरीले जनाए । उक्त मोटरसाइकल गरुडा नगरपालिका–५ का एवं चन्द्रनिगाहपुरमा संचालन गरेका खुसी मार्टका सञ्चालक राकेश कुमार गिरीको रहेको खुलेको बताइएको छ ।
गिरीका अनुसार भदौ १ गते चन्द्रनिगाहपुरस्थित अशोका होटल अगाडि मोटरसाइकल पार्किङ गरेर खाना खान गएको समयमा मोटरसाइकल चोरी भएको थियो । चोरी भएपछि उनले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए ।
दुई दिनदेखि निष्क्रिय जीपीएस अचानक सक्रिय
घटनाको सबैभन्दा रोचक पक्ष के छ भने चोरी हुनुभन्दा दुई दिनअघि नै बिग्रिएर निष्क्रिय अवस्थामा रहेको मोटरसाइकलको जीपीएस मंगलबार राति ९ः३६ बजे अचानक सक्रिय भएको थियो ।
जीपीएस सक्रिय भएको जानकारी पाएलगत्तै गिरीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र गिरीले जीपीएसको लोकेसन पछ्याउदै गएका थिए । जीपीएसले मंगलबार दिनभर गरुडा–कटहरिया क्षेत्रमा मोटरसाइकल ओहोरदोहोर गरेको देखाएपछि प्रहरीले सम्भावित स्थान पहिचान गरी रातभर निगरानी गरेको थियो ।
बुधबार बिहान उज्यालो भएपछि सम्बन्धित घरमा छापा मार्दा मोटरसाइकल फेला परेको सवारीधनी गिरीले बताए ।
नम्बर प्लेट फेरिएको दाबी
मोटरसाइकलधनी गिरीका अनुसार बरामद मोटरसाइकलको इन्जिन र चेसिस नम्बर आफ्नो मोटरसाइकल सँग मिलेको छ । तर नम्बर प्लेट परिवर्तन गर्नुका साथै मोटरसाइकलको स्वरूपमा समेत केही फेरबदल गरिएको अवस्थामा फेला परेको दाबी गरे ।
प्रहरीका श्रोतका अनुसार शाखा अधिकृत यादवले मोटरसाइकल घरअगाडि बेवारिसे अवस्थामा भेटिएको र आफन्तको हुनसक्ने ठानेर उनका कान्छा छोरा १४ वर्षीय गोलु यादवले घरभित्र राखेको बताए ।
यस्तै, शाखा अधिकृत यादवका ट्रेक्टर चालकले पनि यस्तै मोटरसाइकल चलाउने गरेको जानकारी पाएपछि प्रहरीले कटहरिया–१ भसेढवा गाउँका २५ वर्षीय नितेश यादवलाई समेत पक्राउ गरेको जनाए ।
शाखा अधिकृत यादवले मोटरसाइकल चोरीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मोटरसाइकलधनी गिरीको जाहेरीका आधारमा पक्राउ परेका दुवै जनाविरुद्ध चोरी सम्बन्धी मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पक्राउ परेका दुवै जना तथा बरामद मोटरसाइकल सहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको बताए ।
प्रहरीले मोटरसाइकल कसरी चोरी कसरी भयो, चोरीपछि शाखा अधिकृतको घरसम्म कसरी पुग्यो र घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाए ।