स्वास्थ्य सामग्री माग्दै मन्त्रालय पुगे गोडैता नगर प्रमुख, नगर अस्पताल सञ्चालनको तयारी तीव्र

trinetraexpress


मलङ्गवा, सर्लाही। सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग औपचारिक आग्रह गरेको छ।

शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग मन्त्रालयमा भेट गरी अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रहपत्र बुझाएका हुन्।

आग्रहपत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने आश्वासन दिएको नगर प्रमुख यादवले जानकारी दिए।

गोडैता नगरपालिका–३, सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको गोडैता नगर अस्पताल गत असार १० गते उद्घाटन गरिएको थियो। अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीले आफ्नै पालिकाबाट आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जनाएको छ।


प्रतिक्रिया