बारा, ११ भदौ । बारा–पर्सासँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले निगरानी तथा कारबाही तीव्र बनाएका छन् ।
पूर्वी चम्पारण जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनपछि सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायले सक्रियता बढाएका हुन् ।
रक्सौल र आदापुर क्षेत्रमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १९२ किलो ४२६ ग्राम गाँजा बरामद भएको छ । घटनामा एक नेपाली नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार अपराह्न रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत सीवान टोलमा हरैया प्रहरी र एसएसबीको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको ४ किलो ४२६ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले पर्सा जिल्लाको सुगौली थाना क्षेत्रअन्तर्गत कुहडी निवासी २५ वर्षीय अवध किशोर प्रसादलाई पक्राउ गरेको जनाएको छ । उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका प्रसादविरुद्ध भारतीय एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, आदापुरको हरपुर थाना क्षेत्रमा गरिएको अर्को कारबाहीमा १८८ किलो गाँजा बरामद भएको छ । गोप्य सूचनाका आधारमा बरवा पेट्रोल पम्पनजिक सवारीसाधन जाँच गर्ने क्रममा बीआर–३०जीबी–२२८० नम्बरको १० चक्के ट्रकबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकको इन्जिन बोगीमा विशेष रूपमा बनाइएको गोप्य बक्सभित्र १२ वटा पेटीमा गाँजा लुकाएर राखिएको थियो । घटनामा ट्रक चालक मुजफ्फरपुर जिल्लाको कान्ती थाना क्षेत्रअन्तर्गत हरिचन्दा निवासी शौकत अली पक्राउ परेका छन् ।
सीमापार तस्करीको सञ्जालमाथि प्रश्न
एकै दिन भारत–नेपाल सीमावर्ती क्षेत्रमा भएका दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमापार लागुऔषध तस्करीको सम्भावित सञ्जालबारे प्रश्न उठाएको छ ।
विशेषगरी मोटरसाइकल तथा ट्रकमार्फत गाँजा सीमावर्ती क्षेत्रमा पुर्याइएको अवस्थामा सीमा क्षेत्रमा हुने सुरक्षा जाँच तथा निगरानी प्रणाली कति प्रभावकारी छ भन्ने विषयमा समेत प्रश्न उठेको छ ।
नेपालबाट भारततर्फ गाँजा लैजान प्रयोग भएका सम्भावित मार्ग, तस्करीमा संलग्न व्यक्ति तथा समूह र यसको स्रोत तथा गन्तव्यबारे अनुसन्धान आवश्यक देखिएको छ ।
यद्यपि पक्राउ परेका व्यक्तिहरूको वास्तविक संलग्नता, गाँजा कहाँबाट ल्याइएको थियो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ ।
भारतीय प्रहरीले दुवै घटनामा बरामद गाँजा, मोटरसाइकल र ट्रक नियन्त्रणमा लिई एनडीपीएस ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ ।