चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र शिक्षकको निजी लगानीमा ‘यक्ष दह उद्यान’ निर्माण अभियान

newsdesk

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो निजी लगानीमा वृक्षारोपण गर्दै “यक्ष दह उद्यान“ निर्माण गर्ने अभियान सुरु गरेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले २ सय ३५ वटा र सामुदायिक विद्यालयका शिक्षकहरूले १ सय ३८ वटा वृक्ष रोप्ने निर्णय गरेका छन् । एकवटा विरुवा रोप्न करिब २ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गाउँपालिकाको गौरव मानिने नाढीमन ताललाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित तालको डिल र ३ किलोमिटर क्षेत्रमा १ सय प्रजातिका २ हजार ५ सय भन्दा बढी वृक्ष रोपिने गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

“स्थानीय रैथाने, लोपोन्मुख तथा सौन्दर्यात्मक फूल र फल दिने बहुवर्षीय वृक्ष लगाइनेछ,” अध्यक्ष महतोले भन्नुभयो, “जनस्तरबाट परिवार, आफन्त, संघ–संस्था वा पार्टीको नाममा वृक्षारोपण गरी इतिहासमा योगदान दिने अवसर पनि हुनेछ ।”

यस अभियानमार्फत तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण र प्रवर्द्धन गर्दै ‘यक्ष दह उद्यान निर्माण जनअभियान २०८२’ वैशाख ३० गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

फुल तथा विरुवाको संरक्षणका लागि फलामको जालीको घेरा बनाइने र ६ जना कर्मचारी भर्ना गरिने प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताउनुभयो । उहाँका अनुसार, यो अभियानले नाढीमन ताललाई दीर्घकालीन रूपमा संरक्षण गर्नुका साथै चन्द्रनगर गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने दिशा दिनेछ ।

प्रतिक्रिया