सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताबजारमा बुबा–छोराले आमा–छोरीलाई निर्घात कुटपिट गरेका छन्।
स्थानीय ५० वर्षीया पानो देवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई सोही वडाका देवेन्द्र राय र उनका छोरा प्रविण रायले शनिबार दिउँसो कुटपिट गरेको पीडितका श्रीमान नथुनी महतोले जानकारी दिनुभयो।
कुटपिटबाट घाइते दुवै जनाको ईश्वरपुर नगरपालिका स्थित बयलवासको सिद्धिविनायक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार, दुवैको शरीरमा निलडाम परेको छ भने पानो देवीको हातमा गम्भीर चोट लागेको छ।
घटना पछि आरोपी बुबा–छोरा दुवै फरार भएको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय केशरगंजमा निवेदन दिएको पीडित पक्षले जनाएको छ।
नथुनी महतोका अनुसार, कुटपिट मात्र नभई आरोपीहरूले उनकी श्रीमती र छोरीसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाउने धम्कीसमेत दिएका थिए।
७ भदौ २०८२, आईतबार ०२:५२ मा प्रकाशित