प्रहरीले दर्ता गर्यो वडाध्यक्ष दासमाथि भारतीयलाई नागरिकता सिफारिसको अभियोगमा नयाँ जाहेरी

newsdesk

सर्लाही, २४ असोज । ज्यानमार्ने उद्योग कसुरमा पक्राउ परेका सर्लाही गोडैता नगरपालिकाका वडाध्यक्ष विरुद्ध गैर नेपालीलाई नागरिकता बनाउनमा सिफारिस गरिएको गम्भीर आरोप लागेका छन् ।

गोडैता नगरपालिका बजारमा रहेका प्रहरी चौकीमाथि आक्रमण गराएर जनधनको क्षति पुर्याएको आरोपमा विभिन्न आपराधिक कसुरमा मुद्दा दर्ता गरेर पक्राउ गरिएका वडा नम्वर ७ का अध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास माथि गैर नेपाली नागरिकलाई नागरिकता बनाउनमा सिफारिस गरिएको समेत आरोप यतिखेर लागेका हुन् ।

हुनत वडाध्यक्ष दास माथि नागरिक सम्बन्धी उजुरी २०८१ जेठ २८ उजुरी जिल्ला प्रशासन कार्यालय सर्लाहीमा परेका थिए । उक्त मुद्दामा समेत प्रहरीले छानविन प्रक्रिया अगाडी बढाएको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रहरी चौकी माथि आक्रमण गरेको, ढुंगामुढाबाट सई सहित पाँच जना प्रहरी घाइते भएको, चौकीमा रहेका तिन वटा मोटरसाइकलमा क्षति पुगेपछि गम्भीर घाइते सईले दिएको उजुरीको आधारमा आपराधिक उपद्रव, कुटपिट अंगभंग र ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएपछि वागमती नगरपालिकाको कर्मैयाबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएका थिए ।

घटनाको विवरण

दुर्गा पुजाको चन्दाको विषयलाई लिएर विवाद भएपछि स्थानीय व्यापारी र ठेक्केदार विच कुटाकुट भएका थिए । स्थानीय कारिल यादवलाई रामनगर गाउँपालिका–५ का ठेकेदार अनिल राय यादव लगायतका मानिसहरुले कुटपिट गरेको घटनापछि विवाद चर्किएको थियो ।

उक्त विषयमा प्रहरी चौकीमा पंचायती (छलफल) भइरहेको समयमा वडाध्यक्ष दास पक्षका व्यक्तिहरूले आक्रमण गरेको आरोप प्रहरीको छ । 

त्यसपछि ठेकेदार यादवलाई प्रहरीले नियन्त्रणमा लिएकोमा आक्रोशित बन्दै वडाध्यक्ष सहित उनको समर्थनका केही व्यक्तिहरुले प्रहरी चौकी गोडैतामा आक्रमण गर्दा प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवका दुईवटा अगाडिका दाँत भाँचिएका थिए । उनी संगै चौकीमा कार्यरत अन्य पाँच प्रहरी कर्मचारीलाई ढुंगा लागेर  घाइते भएको थियो ।

ढुंगामुढा र बाँसको भाँटा प्रहारका कारण तीन वटा मोटरसाइकल समेत क्षतिग्रस्त भएको प्रहरीले जनाए ।

प्रहरीको प्रतिक्रिया, कानुनी प्रक्रिया

वडाध्यक्ष दासलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । उनमाथि आपराधिक उपद्रो, कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योगको अभियोगमा सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं सूचना अधिकारीले जानकारी दिए ।

डिएसपी राईका अनुसार, “वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको प्रमाण हाम्रो अनुसन्धानमा देखिएको छ । त्यसै कारणबस अदालतबाट पक्राउ पुर्जी जारी गराएर नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,” उनले भने ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवको प्रतिक्रिया

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले भने वडाध्यक्षलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाए । ठूला दलको इशारामा यहाँका प्रहरी प्रशासन काम गरिरहेको कारण आज निर्दोष वडाध्यक्षलाई पक्राउ गरिएको बताए । झै झगडामा संलग्न नरहेका दासलाई पक्राउ गर्नु कार्य निन्दनीय भएको प्रतिक्रिया दिए ।

उनले भने, “वडाध्यक्षको संलग्नता छैन, व्यापारीहरुले ढुंगामुढा गरेका हुन् । निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु अनुचित छ ।” हो प्रहरी चौकी माथि आक्रमण र सईको दाँत भाँचिनु कार्य सरासर अनुचित रहेको हुँदा प्रहरीले सुक्ष्म अनुसन्धान गरेर दोषिलाई समात्नुपर्ने पक्षमा आफू रहेको बताए ।

वडाध्यक्ष दास विरुद्ध गैर नेपालीलाई नागरिकता बनाउनमा सहयोग गरेको खुलाशा

लोकतान्त्रिक समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएका वडाध्यक्ष दास विरुद्ध गौडैता नगरपालिकाको एक जना युवकले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा २०८१ जेठ २८ गते दिएको उजुरी पत्रमा एक भारतीय नागरिकलाई गोडैता नगरपालिका–७ मोहन राउत कुर्मीको छोरा सुरेन्द्र राउत कुर्मी हो भनेर २०७८ कार्तिक ३० गते १९–०१–७८–०९१६९ नम्वरको नागरिकता बनाउनमा मद्दत पुर्याएको गम्भीर आरोप लागेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दिइएको जाहेरीमा गोडैता नगरपालिका–७ का मोहन राउत कुर्मीको तीन छोरा मध्ये कान्छो छोरा बाल्यकालमै मृत्यु भएपनि तिनका नाममा भारतीय नागरिकलाई जन्मदर्ताको आधारमा सुरेन्द्र राउत कुर्मीको नामबाट कागजातहरु किर्ते तयार पार्न लगाई वडाध्यक्ष दासले नागरिकताको लागि सिफारिस गरेको देखिन्छ ।

गाउँघरमा उक्त कुराको हल्लीखल्लि हुन थालेपछि नागरिकता बनेको १५ महिना पश्चात २०७९ चैत २६ गते वडाध्यक्ष दासले उक्त नम्वरको नागरिकता रद्द गर्न पत्र पठाएको समत उल्लेख गरिएको छ ।

जवकी नागरिकता ऐन २०६३ को दफा २१ को (१) र (२) अनुसार नेपाली नागरिकता लिएमा गैर नेपाली जसले नागरिकता लिएको, त्यसमा सनाखत गर्ने बुवाआमार सिफारिस गर्ने व्यक्तिलाई अपराधि मानेर कसुवार ठहर गरी कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने स्पष्ट प्रावधान रहेको छ ।

नागरिकता लिने सुरेन्द्र राउत कुर्मी, बुवा बनेका मोहन राउत कुर्मी देश छाडेर भागिसकेको र तीन जना कसुरदार मध्ये वडाध्यक्ष दास यही रहदा पक्राउ गरी कारवाही गर्न उक्त उजुरी पत्रमा उल्लेख गरिएको हो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले अपराधिक उपद्रो, कुटपिट अंगभंग, ज्यान मार्ने उद्योगमा अनुसन्धान भईरहेको र  गैर नेपाली नागरिकलाई नागरिकता दिलाएको आरोपमा समेत जाहेरी दर्ता भएको र उक्त जाहेरी को विषयमा समेत छानविन हुदै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया