गोडैतामा इलाका प्रशासन कार्यालयको माग गर्दै सर्वदलीय बैठक सम्पन्न

newsdesk

सर्लाही । सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय बलरामै स्थापना गर्ने निर्णय विरुद्ध शुक्रबार सर्वदलीय बैठक सम्पन्न भएको छ। गोडैता नगरपालिकाको सभाहलमा नगर उपप्रमुख अञ्जना कुशवाहाको अध्यक्षतामा बसेको बैठकले गोडैतामै इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागीहरूले बलरा भारतीय सीमाक्षेत्र नजिक भएकाले त्यहाँ कार्यालय स्थापना गर्दा सुरक्षाजन्य चुनौती बढ्ने उल्लेख गर्दै गोडैतामै राख्नु उपयुक्त हुने धारणा राखे। साथै, गोडैता, बलरा, रामनगर, धनकौल, बसबरिया र विष्णु गाउँपालिकाको बिच केन्द्र गोडैता भएकाले सबैका लागि पायक पर्ने स्थान यही हुने तर्क गरिएको थियो।

“जिल्ला प्रशासन कार्यालय मलंगवातर्फभन्दा बलरा गोडैतावासीका लागि अझ टाढा पर्छ, त्यसैले बलरामा कार्यालय राख्नु अन्यायपूर्ण छ,” बैठकमा सहभागीहरूले भने।

बैठकले गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने र माग कार्यान्वयनका लागि समन्वय समिति तथा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

कार्यक्रममा नगर उपप्रमुख अञ्जना कुशवाहा, प्रमुख अतिथि उपेन्द्र प्रसाद कुशवाहा, नगरपालिकाका सबै वडाध्यक्ष, विभिन्न दलका नेता–कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र गोडैतावासीहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया