रौतहट, २० जेठ । रौतहटको वन क्षेत्रबाट काँचो दाउरा काटी तस्करी गर्ने कार्य फस्टाउदै गएको छ ।
वन क्षेत्रमा गएर काँचो एवं पातलो रुखहरुको लाथ्रा काटेर दाउरामा परिणत गरी बैट्रीबाट चल्ने दर्जनौं ई रिक्साहरुमा लोड गरेर बजार सम्म ओसारी तस्करी कार्य यतिखेर रौतहटको वन क्षेत्रमा फस्टाउदै गएको हो ।
यतिखेर सार्वजनिक यातायातका सवारी साधन बन्द रहेको मौका छोपेर ई रिक्साहरु वन क्षेत्रबाट काठदाउराको तस्करी कार्यमा संलग्न रहेका छन् । सार्वजनिक यातायातको सेवा अवरुद्ध भएको फाइदा उठाउँदै ई रिक्सावालाहरू खुलेआम वन क्षेत्रमा प्रवेश गर्ने, काँचो दाउरा काट्ने, लोड गर्ने र दिनदहाडै बजार सम्म ल्याएर बेच्ने गरेका हुन् ।
स्रोतका अनुसार, विगत केही महिनायता डिभिजन वन कार्यालय, चन्द्रपुरका कर्मचारीहरु नियमित गस्ती न्यून गरेपछि वन संरक्षणमा गम्भीर लापरबाही देखिएको छ । वन क्षेत्रमा भएको अवैध कटानीको जानकारी भए पनि गस्ती नगर्ने र स्थानीय प्रशासनसँग सहकार्य नगर्ने प्रवृत्तिले वन माफियाहरु तस्करी कार्यमा तिव्रता आएको बताइएको छ ।
डिभिजन वन कार्यालय प्रमुख हेमन्त प्रसाद साहले सार्वजनिक रूपमा “वन जोगाउने अभियानमा सक्रिय रहेको” बताएपनि व्यवहारीक रुपमा फरक दृष्य देख्ने गरेका छन् ।
काँचो दाउरा काटेर ल्याएर चन्द्रनिगाहपुरको बजारमा सजिलै बिक्री हुने गरेको पाइएको छ । बजारमा सस्तो मूल्यमा दाउरा पाइने भएपछि धेरैले खरिद गर्ने गरेको देखिन्छ । यस्तो काठ किन्दा हामीलाई सस्तो पर्छ, तर यो वैद्य हो कि अवैध भनेर हामीले सोध्ने अवस्था हुँदैन, एक व्यापारी श्रोतले बताए ।
यस्ता काँचो रुखको लाथ्राहरु नाश गरेर पर्यावरणीय असन्तुलन र जैविक विविधताको विनाश हुँदै गएकोमा स्थानीयवासीहरु चिन्ता व्यक्त गरे । वन मासिदा चुरे क्षेत्र कमजोर हुँदै गएको छ, जसको प्रत्यक्ष असर बाढी, पहिरो, र सुख्खा जस्ता प्राकृतिक विपत्तिको रूपमा आउन सक्छ । नियमनकारी निकायले समयमै ध्यान दिएर वन विनाशलाई रोक्न स्थानीयहरुको धारणा राखेको छ ।