सप्तरी, ३० साउन — नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि शुक्रबार बिहान दिनदहाडै आक्रमण भएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि शुक्रबार बिहान १०:४२ बजे यादवमाथि तीनजनाको समूहले चक्कु, बेल्ट र हेलमेटले प्रहार गरेको पीडित यादवले बताए। आक्रमणबाट टाउको तथा शरीरमा चोट लागेका यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।
‘गेटअगाडि साथीहरूसँग कुरा गरिरहेको थिएँ, छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव (क्याप्टेन), राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले एक्कासि आक्रमण गरे,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसी जितेन्द्र बस्नेतका अनुसार आक्रमणमा संलग्नमध्ये एकजनाको पहिचान भइसकेको छ र खोजी कार्य जारी छ। ‘कानुनअनुसार कारबाही हुन्छ,’ बस्नेतले भने।
३० साउन २०८२, शुक्रबार ०१:५२ मा प्रकाशित