सिरहामा अपहरित किशोरको हत्या, शव आँपबगैचामा फेला

newsdesk

सिरहा — सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट आइतबार राति अपहरणमा परेका १७ वर्षीय अभिषेक महतोको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार महतोको शव घर नजिकैको आँपबगैचामा फेला परेको हो। हातखुट्टा बाँधिएको अवस्थामा शवमाथि एसिड खन्याइएको प्रहरीले जनाएको छ। शव मृतकको घरबाट करिब एक सय मिटर पूर्वतर्फ फेला परेको हो।

परिवारका अनुसार आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा घुम्न गएका थिए। तर उनी फर्किएनन्। रातभर खोजतलास गर्दा भेट्न नसकेपछि सोमबार बिहानै अभिषेकको आमाको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो। त्यसपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।

महतो परिवारले प्रहरीलाई समयमै सम्पूर्ण जानकारी दिए पनि सकुशल उद्धारमा प्रहरी असफल भएको आरोप लगाएका छन्। “प्रहरीको निष्क्रियताका कारण छोराले ज्यान गुमाउनु पर्यो,” पीडित परिवारको आक्रोश छ।

स्थानीयवासीले पनि प्रहरीले अपहरण हो भन्ने पुष्टि गर्नमै ढिला गरिरहेको भन्दै असन्तोष व्यक्त गरेका छन्। तर प्रहरी निरीक्षक साहले भने, “घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ, संलग्नलाई पत्ता लगाएर कानुनी दायरामा ल्याइन्छ।”

प्रतिक्रिया