खानेपानीको हाहाकार: सर्लाहीमा तत्काल समाधानका लागि चार बुँदे निर्णय

newsdesk

सर्लाही, साउन १६ — सर्लाही जिल्लामा पछिल्लो समय चरम रूपमा देखिएको खानेपानी अभाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय, सर्लाहीको आयोजनामा मंगलबार एक महत्वपूर्ण सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मलंगवा नगरपालिका सहितका स्थानीय तहहरूमा देखिएको खानेपानी संकटको यथार्थ अवस्था पहिचान गरी तत्काल समाधान गर्न चार बुँदे निर्णय गरिएको छ।

बैठकले मलंगवा लगायतका नगरपालिकामा खानेपानीको वास्तविक अवस्था एकिन गरी पाइप जडान तथा धारो निर्माणजस्ता तत्काल कार्य थाल्ने, खानेपानी डिभिजन, वडा कार्यालय, विद्युत प्राधिकरण, सडक लगायतका निकायहरूबीच समन्वय गरी समस्या समाधान गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नगरपालिकाका प्रत्येक वडामा खाली रहेको सरकारी जग्गामा ट्यांकी निर्माण गरी खानेपानी आपूर्ति सुनिश्चित गर्ने तथा आपतकालीन अवस्था आएमा ट्यांकर र जारबाट पानी वितरणको व्यवस्था गर्ने व्यवस्था तत्काल गर्न निर्देशन दिइएको छ।

बैठकमा खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्र, उद्योग वाणिज्य संघ, नागरिक समाज, सरकारी तथा संघीय निकायबीच सहकार्य गरी प्रभावकारी प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ।

बैठकमा मलंगवा नगरपालिकाका नगरप्रमुख श्री नागेन्द्र प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धानका अधिकारी, खानेपानी डिभिजनका प्राविधिक तथा विभिन्न स्थानीय वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले खानेपानी समस्यालाई गम्भीर रूपमा लिँदै सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी तत्काल समाधानको कार्यान्वयन अघि बढाउने स्पष्ट पारेको छ।

प्रतिक्रिया