गोडैतामै प्रशासन कार्यालय स्थापना गर्न माग, संघर्ष समितिद्वारा प्रदर्शन

newsdesk

सर्लाही, भदौ ११। सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयवासी, जनप्रतिनिधि तथा संघर्ष समितिले प्रदर्शन गरेका छन् ।

पब्लिक मावि मलंगवा–२ बाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सम्पन्न भएको थियो । प्रदर्शनका सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै गोडैता, विष्णु, बलरा, रामनगर र धनकौल गरी पाँचवटै पालिकाको सहज पहुँच हुने भएकाले कार्यालय गोडैतामै हुनुपर्ने तर्क राखे । सो क्रममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखक वीरगन्ज आएको अवसरमा पनि संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाइसकेको थियो । मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै सो निर्णय तत्काल सच्याउन माग गरिएको हो ।

संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य फकिरा महतो, गोडैता नगरपालिकाकी कार्यवाहक मेयर अञ्जना कुशवाहा, विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल राय, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहलगायतका जनप्रतिनिधिहरूको हस्ताक्षर गरिएको छ ।

संघर्ष समितिको तर्कअनुसार गोडैता पाँच पालिकाको केन्द्रभागमा पर्ने भएकाले जनताका लागि प्रशासनिक सेवा सहज हुने मात्र नभई भारतसँगको सीमा नजिक भएकाले सुरक्षाका दृष्टिले समेत उपयुक्त हुनेछ । हाल यी पालिकाका स्थानीयवासीहरू प्रशासनिक सेवा लिन सदरमुकाम मलंगवा धाउन बाध्य छन् ।



प्रतिक्रिया