भारत–चीन सम्झौता विरुद्ध हरिवनमा ‘लिपुलेक हाम्रो हो’ भन्दै युवाको प्रदर्शन

newsdesk

✍️ राम विश्वास कुशवाहा हरिवन–३, सर्लाही — नेपालकै सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामा हस्तक्षेप गर्ने गरी भारत–चीनबीच भएको व्यापारिक समझदारीमा नेपालको भूमि लिपुलेक प्रयोग गर्ने सहमति भएको समाचार बाहिरिएपछि देशभर आक्रोश चुलिएको छ। नेपाल सरकारले पटक–पटक लिपुलेक नेपालको अविभाज्य हिस्सा भएको दोहोर्‍याउँदै आए पनि भारत र चीनले नेपालको अधिकारलाई बेवास्ता गर्दै गरेको निर्णयलाई आपत्तिजनक र अस्वीकार्य मानिएको छ।


यसै विरोधस्वरूप वाईसिएल नेपाल (YCL) र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा ८ भदौ २०८२ गते बेलुकी ६ बजे हरिवनको कडरिया चौकमा भव्य मशाल जुलुस सम्पन्न भयो। सयौँ युवा, विद्यार्थी र स्थानीय नागरिकको उपस्थिति रहेको कार्यक्रमको नेतृत्व अखिल क्रान्तिकारी सर्लाहीका अध्यक्ष स्युविल शेख र YCL का जिल्ला अध्यक्ष घमराज श्रेष्ठले गर्नुभयो।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता अर्जुन पन्तले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्‍याउँदै सरकारलाई भूमिको रक्षा गर्न ठोस र कडा कदम चाल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालको सार्वभौमिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम सह्य हुँदैन, देशको भूमिमा आँच आउन दिइने छैन।”


नेता पन्तको दृढ राष्ट्रभक्ति र निडर शैलीले उपस्थित युवाहरूमा उत्साह थपेको थियो। उपस्थित नागरिकहरूले उहाँलाई ‘राष्ट्रवादी नेतृत्वको प्रतीक’का रूपमा खुलेर प्रशंसा गरे।


त्यस्तै, अध्यक्ष शेख र श्रेष्ठले पनि आफ्नो मन्तव्यमा चुच्चे नक्साले देखाएको भूभागलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन सरकार तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो। अन्य वक्ताहरूले लिपुलेकलाई भारत–चीन व्यापारिक नाका बनाउने योजना नेपालको स्वाधीनता र अखण्डतामाथि ठूलो धक्का हुने चेतावनी दिए।


जुलुसमा सहभागी युवाहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रिय हितमा सम्झौता हुँदैन”, “भारत–चीनको हस्तक्षेप बन्द गर” जस्ता नाराबाजी गरेका थिए। साथै, प्रतीकात्मक रूपमा भारतीय र चिनियाँ हस्तक्षेपकारी नीतिको पुत्ला दहनसमेत गरिएको थियो।


कार्यक्रम भव्यरूपमा सम्पन्न गर्दै आयोजकहरूले सरकारले तत्काल भारत र चीनसँग कूटनीतिक पहल गरी नेपालको भूमिको रक्षा गर्नुपर्ने माग राखेका छन्।


प्रतिक्रिया