सर्लाही, हरिवन — सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा करिब साढे ४२ लाख रुपैयाँ बराबरको अवैध सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ।
बागमती नगरपालिका–१२ स्थित चेकपोष्टबाट बुधबार बिहान ६:४० बजे इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब निरीक्षक (प्रनानि) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा शंकास्पद बिलबिजकसहितको अवैध सामान फेला परेको हो।
प्रहरीका अनुसार ट्रकमा टायर, आपमा छर्ने विषादी, मोबिल, खाने तेल, ग्यास रेगुलेटर, मोटर पार्ट्स, घिउ, किसमिस, छाता, इलेक्ट्रोनिक सामग्री र कस्मेटिक वस्तुहरू लोड गरिएको थियो।
बरामद सामग्रीको अनुमानित मूल्य रु. ४२ लाख ४० हजार ३ सय ४७ रहेको जनाइएको छ। सामान अवैध रूपमा ढुवानी गरिएको र बिलबिजक समेत शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि ट्रकसहितका सामग्रीहरू राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ।