राम विश्वास कुशवहा, हरिवन (सर्लाही), कार्तिक १० — हरिवन नगरपालिका–३ मा आगामी दिनमा छठ पर्वलाई व्यवस्थित र स्थायी रूपमा मनाउने उद्देश्यसहित “छठ पोखरी” निर्माणको शिलान्यास सोमबार सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा वडा नम्बर ३ का अग्रणी समाजसेवी श्री महिते पुलामीले धार्मिक तथा सामाजिक प्रयोजनका लागि दुई कठ्ठा जग्गा दान गर्नुभएको हो। उहाँको यस योगदानले स्थानीय समुदायमा गहिरो प्रशंसा पाएको छ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दीपमान लोप्चन रहनुभएको थियो। उहाँले छठ पर्वलाई व्यवस्थित रूपमा मनाउन अबका वर्षहरूमा यही स्थललाई स्थायी मञ्चका रूपमा विकास गरिने जानकारी दिनुभयो। साथै, उहाँले उक्त पोखरी निर्माणका लागि वडा कार्यालयबाट बजेट विनियोजन गर्ने र अन्य निकायहरूसँग पनि समन्वय गरी शीघ्र निर्माण कार्य अगाडि बढाइने बताउनुभयो।
स्थानीय बासिन्दाहरूले यसअघि छठ पर्व मनाउन पर्याप्त ठाउँको अभावका कारण कठिनाइ भोग्दै आएको जनाएका थिए। अब पुलामी परिवारको जग्गा दानपछि उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा वडा अध्यक्ष लोप्चन, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा गाउँबासीहरूले जग्गादाता महिते पुलामी र उहाँको परिवारप्रति हार्दिक सम्मान र आभार प्रकट गरेका थिए।
त्यसैगरी, पुलामी परिवारले यसअघि पनि शैक्षिक विकासको क्षेत्रमा योगदान दिंदै विद्यालय निर्माणका लागि जग्गा दान गरेको स्मरण गर्दै स्थानीयहरूले उहाँलाई “सामाजिक अग्रणी”का रूपमा प्रशंसा गरेका छन्।