विद्यालय व्यवस्थापन समितिको अकर्मण्यताले सिर्जना गर्‍यो संकट : नगरप्रमुखको आरोप

trinetraexpress

बलरा (सर्लाही) — विद्यार्थीहरूले दिवा खाजा र शिक्षकले तलबभत्ता नपाएको भन्दै बलरा नगरपालिका–१, हथिआैलस्थित श्री लक्ष्मेश्वर सुमित्रा माध्यमिक विद्यालयका बालबालिकाहरूले नगरपालिका कार्यालयमा पुगी विरोध जनाएपछि नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।

नगरप्रमुख कुशवाहाले सर्वप्रथम नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखलाई समस्याको समाधान यथासिघ्र गर्न निर्देशन दिइसकेको जानकारी दिंदै सरोकारवालाहरूको साथ र सहयोगले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। तर उनले सो समस्या नगरपालिकाको कारण नभई राजनीतिक आस्थाका आधारमा कृत्रिम रूपमा सृजना गरिएको दाबीसमेत गरेका छन्।

उनले भने, “मेरो शिक्षा प्रतिको दृष्टिकोण स्पष्ट छ, मेरो कार्यशैली पारदर्शी, खुला र जवाफदेही छ। यस विद्यालयको समस्या सम्बन्धमा सम्मानित नगरबासीलाई सत्य–तथ्य जानकारी गराउनु मेरो धर्म र कर्म हो।”

विद्यालयको विगत र वर्तमान अवस्था

नगरप्रमुखका अनुसार साविक श्री आधारभूत विद्यालय, हथिआैल–८, सर्लाहीमा पूर्व नगरप्रमुख अभय सिंहले ६ कठ्ठा जग्गा दान गरी आफ्ना बुबाआमाको नाम जोडेर विद्यालयको नामाकरण गरेका थिए। नगरप्रमुख कुशवाहाले जिम्मेवारी सम्हाल्दा विद्यालय जस्तापाताले छाएको ५ कोठे भवन र २ कोठे भवनमा सञ्चालन भइरहेको थियो। विद्यार्थी पठनपाठनको अवस्था अत्यन्त प्रतिकूल रहेको र शिक्षक दरबन्दी पनि न्यून रहेको तथ्य उनले स्मरण गराए।

पूर्व नगरप्रमुखले सुरु गरेको २ कोठे पक्की भवन आजसम्म अधुरो रहेको पनि नगरप्रमुखले उल्लेख गरेका छन्।

विद्यालय विकासमा नगरप्रमुख कुशवाहाको पहल

करीब ५०० विद्यार्थी अध्ययनरत विद्यालयको जर्जर पूर्वाधारलाई मध्यनजर गर्दै उनले विगत ३ वर्षमा विभिन्न काम अघि बढाएको जनाएका छन्।

विद्यालय व्यवस्थापन समितिबाट ४ कोठे पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

१८ कोठे पक्की भवन निर्माण प्रक्रियामा रहेको छ, जसको भूईं तल्लाका ९ कोठा पूरा नजिक पुगेका छन् भने दोस्रो तल्ला द्रुत गतिमा निर्माणाधीन छ।

आधारभूत तहसम्म सञ्चालन हुँदै आएको विद्यालयलाई “एक वडा, एक माध्यमिक विद्यालय” अवधारणाअनुसार कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ।

त्यसैगरी, गणित र अंग्रेजी विषयमा दुई जना शिक्षक अनुदान कोटा उपलब्ध गराई नियुक्त गरिएको, एक जना बालविकास शिक्षक नियुक्त भएको र ICT Lab सञ्चालनका लागि बजेटसमेत विद्यालयलाई उपलब्ध गराइएको जानकारी उनले दिएका छन्।

समस्या सिर्जना हुनुको कारण

नगरप्रमुखका अनुसार विद्यालयको नाममा जग्गा दर्ता गर्ने प्रतिबद्धता जनाएर अध्यक्ष बनेका पूर्व नगरप्रमुखका भाइ आशिष कुमार सिंहले अहिलेसम्म जग्गा दर्ता नगरेको र विद्यालय व्यवस्थापन समितिको अदूरदर्शिता, संवेदनहीनता र अकर्मण्यताका कारण समस्या सिर्जना भएको हो।

विद्यालय व्यवस्थापन समितिको दबाबका कारण तत्कालीन प्रधानाध्यापकले जिम्मेवारी सम्हाल्न अस्वीकार गरेको र पछि खटाइएका निमित्त प्रधानाध्यापक रविशेखर सहनीलाई खाता परिवर्तनको सिफारिस नगरिएको हुँदा शिक्षकहरूले तलब भत्ता र विद्यार्थीहरूले दिवा खाजा पाउन नसकेको नगरप्रमुखले स्पष्ट पारेका छन्।

समस्याको समाधानका लागि शिक्षा शाखालाई निर्देशन दिइसकिएको र आगामी २–३ दिनभित्र समस्या समाधान हुने विश्वास पनि नगरप्रमुखले व्यक्त गरेका छन्।

नगरप्रमुखको धारणा

विद्यार्थीहरूलाई राजनीतिक आस्थाको हतियार बनाउन खोज्नु गम्भीर अपराध भएको नगरप्रमुख कुशवाहाले चेतावनी दिएका छन्। उनले भने, “कलम–कापी बोकेर ज्ञान आर्जन गर्ने हातमा डण्डा थमाइ, प्रार्थना गाउने ओठमा नारा चिच्याउन लगाउने र संस्कार सिक्ने उमेरमा संस्कारविहीन व्यवहार देखाउन लगाउने जो–कोही समाजको हितैषी हुन सक्दैन।”

उनले निर्दोष बालबालिकालाई राजनीति गर्ने साधन नबनाउन सबैलाई आग्रह गर्दै चुनावी समयमा बलराबासीसँग गरेको प्रतिबद्धतालाई आफ्नै कार्यकालभित्र पूरा गर्ने दृढ संकल्प दोहोर्याएका छन्।

प्रतिक्रिया