काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका–७ मा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
संघीय सरकारले गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सर्लाहीका पाँच ओटा पालिका—गोडैता, विष्णु, बलरा, रामनगर र धनकौल—का लागि बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सो स्थान सेवा सुविधा र सुरक्षाका हिसाबले उपयुक्त नहुने भन्दै गोडैतामा सार्न माग गरिएको हो ।
जनप्रतिनिधिहरूले पाँचै पालिकाका जनताले सहज सेवा सुविधा पाउने, भारत सीमा नजिक भएकाले सुरक्षा दृष्टिले संवेदनशील रहेका क्षेत्रहरूलाई समेत ध्यानमा राखी गोडैता नगरपालिका–७ सबैभन्दा उपयुक्त स्थान हुने दाबी गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझाउनेमा सर्लाही क्षेत्र नं. ४ ‘क’ का सांसद विरेन्द्रप्रसाद सिंह, क्षेत्र नं. ४ ‘ख’ का सांसद फकिरा महतो, गोडैता नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय, र धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह रहेका छन् ।