सर्लाही, मलंगवा — सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसर निवासी जयकृष्ण महतोको भारतीय नम्बर प्लेटको मोटरसाइकल जिल्ला प्रशासन कार्यालय, सर्लाहीको पार्किङ स्थलबाट चोरी भएको छ।
पीडित महतोका अनुसार, आज बिहान करिब १०:४५ बजे आफ्ना छोराको नागरिकता बनाउने सिलसिलामा कार्यालय अघिको तीन बिघे मैदानमा कालो रङको BR30V 1441 नम्बरको होण्डा मोटरसाइकल पार्किङ गरेका थिए। नागरिकता प्रक्रिया पूरा गरी दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालयबाट बाहिर निस्किँदा पार्किङ गरेको स्थानमा मोटरसाइकल नभेटिएको उनले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयमा दैनिक हजारौं सेवाग्राहीहरूको आवागमन हुने भएपनि पार्किङ स्थलमा सिसिटिभी जडान नहुनु गम्भीर लापरवाहीको संकेत हो।
यसअघि पनि मोटरसाइकल र हेल्मेट चोरी हुने घटनाहरू दोहोरिएपनि कार्यालयले सुरक्षाका लागि आवश्यक प्रविधि जडानमा चासो नदेखाएको सेवाग्राहीहरूको गुनासो छ।
स्थानीयवासी र पीडितले चोरीको घटनापछि प्रशासनले तत्काल सिसिटिभी जडान र पार्किङ सुरक्षालाई व्यवस्थित गर्न माग गरेका छन्।