गोडैता–५ मा शतप्रतिशत विद्यार्थी भर्ना घोषणा, स्मार्ट बोर्ड जडानसहित प्रविधिमैत्री शिक्षाको थालनी

newsdesk

राधेश्याम कुशावहा, गोडैता सर्लाही ।। गोडैता नगरपालिका–५ स्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय, रामवनमा आज एक विशेष कार्यक्रमका बीच शतप्रतिशत विद्यार्थी भर्ना घोषणा तथा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलंगवा सर्लाहीद्वारा सञ्चालित ‘समुन्नति परियोजना’ अन्तर्गत करिब १० लाख रुपैयाँको लागतमा विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको हो।

कार्यक्रममा बोल्दै केन्द्रकी अध्यक्ष श्रीमती गायत्री देवीले गुणस्तरीय तथा आधुनिक शिक्षण प्रणालीलाई प्रवर्धन गर्न स्मार्ट बोर्ड वितरण गरिएको बताइन्। उनले भनिन्, “नगर क्षेत्रका विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्रीको अभाव छ, त्यसैले हामी पठनपाठन सहज र प्रभावकारी बनाउन विभिन्न शैक्षिक कार्यक्रम र सामग्री वितरण गर्दै आएका छौं।”

उनका अनुसार यसअघि बलरा नगरपालिकाका दुई विद्यालयमा स्मार्ट बोर्ड जडान भइसकेको छ भने गोडैता नगरपालिकामा स्मार्ट बोर्ड जडान हुने यो पहिलो विद्यालय हो।

विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणालीलाई बल दिने उद्देश्यले स्मार्ट बोर्ड जडान गरिएको र यसले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको कार्यक्रमका वक्ताहरूले बताए। सेभ द चिल्ड्रेनले समेत विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदानका लागि स्मार्ट बोर्ड सहयोग गरिएको जानकारी दिएको छ।

स्मार्ट बोर्ड जडानले विद्यार्थीहरुलाई पठनपाठनमा थप उत्साह थपेको र प्रविधिमैत्री पढाइले विद्यार्थी चौतर्फी विकासमा टेवा पुर्याउने विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतो बताउँछन । 

प्रअ महतोले ब्ल्याकबोर्ड, चक र डस्टर अब पुरानो प्रविधि भइसकेको उल्लेख गर्दै भने, “अब प्रविधिमैत्री शिक्षा आवश्यक छ। स्मार्ट बोर्डले विद्यार्थीहरूको बौद्धिक क्षमता, रचनात्मकता तथा आधुनिक तरिकाले अध्ययन गर्न सहयोग पुग्नेछ।”

शतप्रतिशत विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अभिभावकहरूको सक्रिय सहभागिता तथा समुदायको भूमिकालाई पनि कार्यक्रमले उच्च सम्मान दिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडा अध्यक्ष श्री प्रकाश प्रसाद गुप्ताले गर्नुभएको थियो भने नगरप्रमुख श्री देवेन्द्र कुमार यादव प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रकी अध्यक्ष गायत्री देवी, विद्यालयका संरक्षक तथा बज्जिका कवि शिरोमणि श्री रामचन्द्र महतो, अभिभावक, शिक्षक, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

प्रतिक्रिया