जनकपुरधाममा वकिलद्वारा पत्रकारमाथि आक्रमण, आधा दर्जन घाइते

newsdesk

जनकपुरधाम । जनकपुरधाममा वकिलहरूले पत्रकारमाथि गरेको आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर रायसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


आक्रमणका क्रममा महासचिव क्रान्तिको पैताला भाँचिएको छ, अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने पत्रकार रायको टाउकोमा चोट लागेको छ।


विवादको सुरुवात नेपाल पत्रकार महासंघले जनकपुरको भूतनाथ महादेवको दक्षिणतर्फ रहेको गुठी संस्थानको ४ कट्ठा जग्गा २० वर्षका लागि वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा लिजमा लिएपछि भएको हो। तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सो जग्गामा कानुन व्यवसायीका गाडी पार्किङ गर्ने निर्णय गरी कब्जा गरेपछि स्थिति तनावपूर्ण बनेको हो।


अध्यक्ष बन्जाराका अनुसार, गुठीसँग कानुनी प्रक्रिया पूरा गरेर सम्झौता भइसकेको र बारसँग मौखिक सहमति समेत भए पनि पछिल्लो कदम आपत्तिजनक छ। उनले विद्वान अधिवक्ताबाट यस्तो व्यवहार हुनु नै विद्वत्तामाथि प्रश्नचिन्ह भएको बताए।


महासचिव क्रान्तिले गुठी संस्थानको जेठ ७ गतेको सार्वजनिक सूचना, प्रस्ताव पेश गर्ने प्रक्रिया र साउन १९ गते सम्पन्न सम्झौताको सम्पूर्ण विवरण सार्वजनिक गर्दै, अन्य प्रस्ताव असफल भएपछि महासंघलाई जग्गा दिने निर्णय भएको बताए।


यो विवाद समाधानका लागि दुवै पक्षलाई भदौ ५ गते छलफलका लागि बोलाइएको छ। महासंघले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया