कपिलवस्तुको कृष्णनगरमा लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीले अभियानलाई बनाउँदै तीव्र

newsdesk

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित यात्रुगेट नजिकैबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति कपिलवस्तु शिवराज नगरपालिका–१, बनकसबास निवासी २२ वर्षीय सुमन सुदारो हुन्।

इलाका प्रहरी कार्यालय (इप्रका) कृष्णनगरबाट प्रहरी जवान विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले असार २४ गते मंगलबार साँझ करिब ३:३० बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेका सुदारोलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार सुदारोको बायाँ खुट्टाको चप्पलभित्र नेपाली १० रुपैयाँको नोटले पोको पारेर लुकाइएको अवस्थामा तीन पुरिया लागुऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो धुलो) फेला परेको थियो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ।

यसअघि असार २२ गते पनि कृष्णनगरकै लक्ष्मीनगर क्षेत्रबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका थिए। प्रहरीका अनुसार हालसालै इप्रका कृष्णनगरमा प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्व आएपछि लागुऔषधविरुद्धको अभियानलाई अझ तीव्र बनाइएको छ।


निरीक्षक लौडारीको अगुवाइमा प्रहरीले विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रममार्फत लागुऔषधविरुद्ध सचेतना फैलाउँदै आएको स्थानीय सामाजिक अभियन्ताहरूले बताएका छन्।


पक्राउ परेका सुदारोमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको र कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएकाले अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन्।


प्रतिक्रिया