बलरा, सर्लाही ।। टाढा टाढाबाट बिहानै झोला बोकेर पैदल विद्यालय आउने, गर्मी–झरीको पर्वाह नगरी पढ्न लागिपरेका ती किशोरीका अनुहारमा अहिले सहज हाँसो छ — कारण, उनीहरूले पाएका छन् आफ्नै साइकल। बलरा नगरपालिकाले नगरभित्रका कक्षा ११ पास गरेका किशोरीहरूलाई साइकल वितरण गर्दै न केवल विद्यालयसम्मको दूरी घटायो, उनीहरूको आत्मविश्वास र सुरक्षित शिक्षाको यात्रा पनि सुरु गराएको छ ।
नगरपालिकाको आफ्नै लगानीमा सञ्चालित यस कार्यक्रमले शिक्षामा पहुँच बढाउने, विद्यालय छोड्ने दर घटाउने र बालविवाह न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। स्थानीय तहको नेतृत्वबाट शिक्षामा यति प्रत्यक्ष र गहिरो हस्तक्षेप दुर्लभ छ, तर बलराले त्यसलाई सम्भव बनाएको छ।
मेयरको दृष्टिकोण — ‘साइकल मात्र होइन, सपना चलाउने साधन’
साइकल वितरण कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले भने, “किशोरीहरूलाई उच्च शिक्षामा आकर्षित गर्न र विद्यालय छोड्ने दर घटाउन हामीले यो पहल गरेका हौँ। जब शिक्षाको बाटो टाढा हुन्छ, सपना बीचमै रोकिन्छन्। त्यो दूरी घटाउने काम साइकलले गर्नेछ।”
नगर क्षेत्रमा तीनवटा उच्च मावि विद्यालय छन् जहाँ दजनौं गाउँ र टोलबाट विद्यार्थीहरू पढ्न आउँछन्। मेयर कुशवाहाका अनुसार, ती विद्यालयहरूमा टाढाबाट आउने किशोरीहरूका लागि साइकल अत्यावश्यक बनेको थियो।
किशोरीहरूको अनुभव — डर हट्यो, बाटो छोटियो
साइकल पाएपछि किशोरीहरू उत्साहित छन्। कक्षा १२ मा अध्ययनरत साहारा सिंह भन्छिन्, “पहिले बिहानै हिंडेर आउँदा डर लाग्थ्यो। अब साइकल पाएकाले समयमै विद्यालय पुगिन्छ र मन पनि सुरक्षित महसुस हुन्छ।”
त्यस्तै, मनिषा कुमारी यादव भन्छिन्, “घरबाट विद्यालय आउन ४५ मिनेट लाग्थ्यो। गर्मीमा झन् गाह्रो हुन्थ्यो। अहिले साइकल पाएकाले चाँडो पुग्न सकिन्छ, पढाइमा ध्यान दिन सकिन्छ।”
यी अनुभवहरू भित्र किशोरीहरूको सहजता मात्रै होइन, उनीहरूको आत्मबल र आत्मसम्मान पनि बढेको देखिन्छ।
बलरा नगरपालिकाले नगर क्षेत्रमा कक्षा ११ उत्तीर्ण गरेका किशोरीहरूलाई साईकल वितरण गरेको छ। किशोरीहरूलाई शिक्षामा प्रोत्साहन गर्न र बालविवाह न्यूनीकरण गर्न स्थानीय सरकारले आफ्नै लगानीमा साईकल वितरण गरेको हो।
“नगरमा तीनवटा उच्च माध्यमिक विद्यालय छन् जहाँ दजनौं गाउँ र टोलबाट टाढाटाढाबाट विद्यार्थीहरू पढ्न आउँछन्। विद्यालयमा पैदल आउन गाह्रो हुने भएकाले विद्यालय पुग्न सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको बलरा नगरपालिकाले जनाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व संविधानसभा सदस्य माननीय शिवपूजन रायले साईकल वितरण कार्यक्रमलाई तीव्रता दिनु आवश्यक रहेको बताए।
सुधा राजेश्वर माविका प्रधानाध्यापक सतेन्द्र कुमार यादवले भने, “स्थानीय सरकारको यो कदम ऐतिहासिक, सराहनीय र उदाहरणीय छ। यसले विद्यालयमा किशोरीहरूको उपस्थिति बढाउन र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न मद्दत पु¥याउनेछ।”
उहाँले बलरा नगर प्रमुख रामाशंकर कुशवाहाबाट आगामी दिनमा पनि यस्ता कार्यको निरन्तरताको अपेक्षा व्यक्त गरे।
बलरा नगरपालिकाका शिक्षा शाखा संयोजक धरिक्षण प्रसाद कुशवाहाका अनुसार, टाढाबाट पैदल विद्यालय आउनुपर्ने कठिनाइका कारण धेरै किशोरीहरूले शैक्षिक सत्र नपूर्याई विद्यालय छाड्ने गरेका छन्। “साईकल वितरणले किशोरीहरूलाई विद्यालय आवतजावतमा सहज बनाउनेछ र उच्च शिक्षामा निरन्तरता दिन प्रेरणा मिल्नेछ,” उनले बताए।
मेयर कुशवाहाले स्थानीय सरकारले आफू निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै आएको र हालसम्म कुल बजेटको ४०–५० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएको पनि जानकारी गराए।
बलरा नगरपालिकाले उच्च शिक्षा अध्ययनरत बलरा– ८ का जनता नमुना माध्यमिक विद्यालयका ३७ छात्रा र बलरा–११ स्थित सुधा राजेश्वर माविमा अध्ययनरत १८ छात्रा गरि जम्मा ५५ जनालाई नगरपालिकाले साइकल हाल वितरण गरेका हुन ।
बाँकी रहेका छात्राहरुलाई बलरा– ५ का रामसखी मोहीत मावि विद्यालयले तथ्यांक उपलब्ध गराएपछि साईकल वितरण गरिने बलरा नगरपालिकाले जनाएका छन ।