मातृ तथा नवजात स्वास्थ्य सेवामा गुणस्तर सुधारका लागि क्लिनिकल कोचिङ तथा मेन्टरिङ कार्यक्रम सुरु

newsdesk

मलंगवा, सर्लाही – मधेश प्रदेशस्थित सर्लाही जिल्लाको प्रादेशिक अस्पतालमा मलंगवाले मातृ तथा नवजात सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित क्लिनिकल कोचिङ तथा मेन्टरिङ कार्यक्रम सुरु गरेको छ।

उक्त कार्यक्रम प्रशिक्षित सुत्केरी सेवा प्रदायक (SBA), डाक्टर, मिडवाइफ, स्टाफ नर्स तथा अन्य नर्सिङ कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्देश्य सेवा प्रदायकहरूको व्यवहारिक सीप, निर्णय क्षमता, क्लिनिकल कार्यसम्पादन र सेवा गुणस्तरमा सुधार ल्याउनु हो। साथै, मातृ तथा नवजात मृत्युदर न्यूनीकरणमा समेत यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सेवा प्रदायक स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमै व्यवहारिक सीप विकास गराउँदै सुत्केरी सेवा अझ प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम प्रारम्भ गरिएको हो।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन कुमार यादव का अनुसार, "हामी मातृ र नवजात मृत्युदर न्यूनीकरणको दिशामा प्रमाणमा आधारित अभ्यास र क्षमता अभिवृद्धिमा केन्द्रित भएका छौं। कोचिङ र मेन्टरिङको माध्यमबाट नर्स र स्वास्थ्यकर्मीहरूको आत्मविश्वास र कार्यक्षमता बढ्ने विश्वास लिएको छौं।"

मुख्य प्रशिक्षकको रूपमा डा. सचिन कुमार यादव, स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा CTS प्रशिक्षक रहनुभएको छ भने अन्य प्रशिक्षकहरूमा डा. अविनाश सिंह, प्रमुख नर्स संगिता श्रेष्ठ, प्रमुख नर्स सह रिंकु, प्रमुख नर्स बिना यादव र एएनएम नीलम यादव रहेका छन्।

कार्यक्रमका प्रमुख अङ्गहरूमा आधारभूत मूल्याङ्कन, स्थानमै हुने क्लिनिकल कोचिङ सत्र, प्रत्यक्ष मेन्टरिङ, केस समीक्षा तथा कार्यसम्पादन अनुगमन समावेश छन्। AMTSL, नवजात पुनःसांस, पार्टोग्राफ प्रयोग, PPH व्यवस्थापन, संक्रमण नियन्त्रण लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक तालिम दिइनेछ।

कार्यक्रम संयोजनमा अस्पताल प्रशासन, स्त्रीरोग विशेषज्ञ, म्याट्रन तथा गुणस्तर सुधार समिति को सक्रिय भूमिका रहेको छ। यो कार्यक्रम अन्तर्गत प्रशिक्षण, TOT, मासिक केस समीक्षा तथा मूल्याङ्कन कार्यहरू तीनदेखि छ महिनासम्म निरन्तर रूपमा सञ्चालन गरिनेछ।

कार्यक्रमबाट सेवा प्रदायकहरूको आत्मविश्वासमा वृद्ध‍ि, प्रसवसम्बन्धी आपतकालीन अवस्थाको शीघ्र पहिचान तथा व्यवस्थापन, मातृ तथा नवजात स्वास्थ्य सूचकहरूमा सुधार र सेवाग्राही सन्तुष्टिमा उल्लेखनीय वृद्धि हुनुका साथै अस्पतालमा कार्यरत SBA र नर्सिङ स्टाफको प्राविधिक सीप, आपतकालीन स्थितिमा तात्कालिक निर्णय गर्ने क्षमता, तथा सेवाग्राहीहरूको सन्तुष्टि स्तर मा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

गुणस्तर सुधार समितिका अनुसार, "केवल कक्षामा तालिम दिइने होइन, काम गर्ने स्थानमै निरन्तर सिकाइ र अभ्यास गराइने भएकाले यस कार्यक्रमले स्थायी परिवर्तन ल्याउनेछ।"

प्रादेशिक अस्पताल मलंगवा ले यस कार्यक्रममार्फत मातृ तथा नवजात सेवामा नयाँ अभ्यास, नियमित कोचिङ संस्कृति र प्रमाणमा आधारित कार्यपद्धति विकास गर्दै गएको देखिन्छ।

मधेश प्रदेशका अन्य स्वास्थ्य संस्थाहरूका लागि समेत यो कार्यक्रम एक नमूना अभ्यास बन्ने विश्वास गरिएको छ।

प्रदेश अस्पताल मलंगवामा गरिएको क्लिनिकल कोचिङ कार्यक्रम प्रभावकारी भयो भने, त्यसलाई अन्य अस्पतालहरूमा पनि लागू गर्ने योजना बनाइने अस्पताल प्रशासनले जनाएका छन।


प्रतिक्रिया