सर्लाही । चन्द्रनगर गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्ने विरुद्ध कडा कदम चालेको छ। गाउँपालिकाले १५ दिनभित्र अतिक्रमित सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोद्वारा जारी सूचनामा गाउँपालिका–६ का लोकेन्द्र मुखियाले साविक चन्द्रनगर गाविस–८ को किता नं. १४०, चन्द्रनगर–३ क किता नं. ९२ र साविक बबरगंज गाविस–४ ग किता नं. ४५ मा पोखरी खनिएको, डिल, माछापालन तथा घर–टहरा निर्माण गरी सरकारी जग्गा अतिक्रमण गरेको भन्दै सो संरचना हटाउन आदेश गरिएको उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको निर्देशनअनुसार जारी गरिएको पत्रमा अतिक्रमण हटाई जग्गालाई पूर्ववत् अवस्थामा ल्याउनुपर्ने उल्लेख गरिएको छ।
गाउँपालिकाले तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।