उच्च अदालतको फैसला: धनकौल–५ का वडाध्यक्षसहित ८ जना निर्दोष

newsdesk


मलंगवा, सर्लाही — सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोसहित आठ जनालाई उच्च अदालत जनकपुर ले निर्दोष ठहर गरेको छ। बुधबार सुनाइएको फैसलामा अदालतले उनीहरूविरुद्ध लगाइएको ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी आरोप पुष्टि गर्न पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकालेको हो।

यसअघि सर्लाही जिल्ला अदालत ले उक्त घटनामा संलग्न ठहर गर्दै प्रतिवादीहरूलाई दोषी करार गरेको थियो। सो निर्णयविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सबै प्रतिवादीलाई सफाइ दिएको हो।

न्यायाधीशद्वय बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्याय को संयुक्त इजलासले प्रस्तुत प्रमाण, घटनाको परिस्थितिजन्य विवरण तथा कानुनी आधारहरूको सूक्ष्म विश्लेषणपछि आरोप पुष्टि हुने ठोस आधार नदेखिएको जनाएको छ। अभियोजन पक्षबाट प्रस्तुत प्रमाणहरू पर्याप्त र विश्वसनीय नरहेको इजलासको ठहर छ।

२०८० सालतिर गाउँमा भएको झडपका क्रममा केही व्यक्ति घाइते भएका थिए। सोही घटनालाई आधार बनाई वडाध्यक्ष महतोसहितका व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा मुद्दा दर्ता गरिएको थियो। त्यसपछि २०८० कार्तिक २१ गते जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।

पछि उच्च अदालतले उक्त आदेश बदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ अनुसार गजेन्द्र महतोलाई दुई लाख ५० हजार रुपैयाँ नगद वा जेथा जमानतमा तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसयता मुद्दा पुनरावेदन प्रक्रियामा रहेको थियो।

स्थानीय तहमा भने उक्त मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दायर गरिएको हुनसक्ने चर्चा हुँदै आएको थियो। उच्च अदालतको पछिल्लो फैसलापछि सरोकारवालाहरूले प्रमाण र कानुनी आधारका आधारमा न्याय भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया