घण्टौं लाइनमा बसे पनि एक्स–रे नपाउँदा गौरका विरामी आक्रोशित

newsdesk

रौतहट, ५ भदौं । प्रादेशिक अस्पताल गौरमा एक्स–रे गराउन विरामीहरुलाई घण्टौंसम्म कुर्नुपर्ने बाध्यता रहेको गुनासो उठेको छ।


अस्पतालमा हात–खुट्टा, शरीरका विभिन्न अङ्ग वा अन्य कारणवश एक्स–रे गराउन गएका विरामीहरुले टिकट काटेपछि पनि लामो समय पर्खिनुपरेको गुनासो गरेका छन्।


गौर नगरपालिका–५ की पाँच वर्षीया बालिका स्नेहा यादवलाई स्वास्थ्य परीक्षणका लागि अभिभावकले ३०० रुपैयाँ तिरेर एक्स–रे गर्न लगे तर मेशिन बिग्रिएको कारण तत्काल काम हुन नसकेको एक्स–रे कर्मचारीले बताएका थिए।


यस्तै, राजदेवी नगरपालिका–१ की सबिता यादव पनि करिब दुई घण्टा लाइनमा बसेपनि एक्स–रे हुन नसकेको बताउँछिन्। “ओपिडीको समय सकिँदै थियो, रिपोर्ट नआउँदा चिकित्सकलाई देखाउनै पाइनँ,” उनले गुनासो गरिन्।


टिकटमा लागेको पैसा फिर्ता गर्नुपर्ने माग गर्दा काउन्टरमै हो–हल्ला भएको थियो। बाहिरबाट गराएको ल्याब परीक्षण अस्पतालले मान्य नगर्ने भएकाले विरामीहरु बाध्यतावश त्यहीँ बसेर पालो कुरिरहेका थिए।


यस विषयमा गौर अस्पतालका सूचना अधिकारी कपिलदेव झाले एक्स–रे मेशिन हिट भएर रिपोर्ट आउन समय बढी लागेको बताए। “सामान्यतया पाँच मिनेटमै रिपोर्ट आउँछ, तर अहिले १५ मिनेटभन्दा बढी लागिरहेको छ।

जसले गर्दा स्वाभाविक रूपमा विरामीलाई असुविधा भएको हो,” उनले बताए। उनले चाँडै समस्या समाधान हुने दाबी समेत गरे।


प्रतिक्रिया