मलङ्गवा, साउन १५। सर्लाही जिल्ला बाल क्लब सञ्जालले सिरहाको गोलबजार नगरपालिकामा प्रदर्शनका क्रममा १७ वर्षीय गणेश यादवलाई गोली लागेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा सञ्जालले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा, बल प्रयोग वा गोली प्रहार अमानवीय, निन्दनीय र बालअधिकारको गम्भीर उल्लङ्घन भएको जनाएको छ। शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने क्रममा भएको यस्तो घटना कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने सञ्जालको भनाइ छ।
सञ्जालले घाइते बालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारको प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
प्रेस विज्ञप्तिमा बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र सम्मानको संरक्षण गर्नु राज्य तथा सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, बालमैत्री नीति तथा यसको कार्यान्वयनमा जोड दिइएको छ।
सञ्जालका जिल्ला अध्यक्ष वेद प्रकाश झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा सबै सरोकारवालाले संयुक्त रूपमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
साथै विज्ञप्तिको अन्त्यमा गोली प्रहारबाट मृत्यु भएका गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।