बरहथवा: जनमत पार्टी र नगरपालिकाबीच पाँच बुँदे सहमति, आमरण अनशन स्थगित।

newsdesk

सर्लाही, बरहथवा । विभिन्न पाँच बुँदे मागसहित तीन दिनदेखि आमरण अनशनमा रहेका जनमत पार्टी बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहले चौथो दिनमा अनशन तोडेका छन्।

बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले सिंहलाई जुस खुवाएर अनशन समाप्त गराएकी हुन्।

सिंहले जेठ २९ गतेदेखि बरहथवा नगरपालिका कार्यालयअगाडि आमरण अनशन सुरु गरेका थिए। अत्यधिक गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि जेठ ३१ गते बिहान उनलाई नगर अस्पतालमा भर्ना गरिएको थियो।

पाँच बुँदे सहमति यस प्रकार रहेका छन:

१. नगर अस्पतालको नाम परिवर्तन — बरहथवा नगर अस्पतालको नाम “जयशंकर रहमानिया नगर अस्पताल” राख्ने निर्णय आगामी नगर सभामा प्रस्तुत गरिनेछ। अस्पतालको जग्गा दाता वडा नं. ६ का वडा अध्यक्ष आफ्ताब आलमका हजुरबुबा रहमानियाको योगदानलाई समेत सम्मान गरिनेछ।

२. सालिक निर्माण — अस्पताल परिसरमा स्व. जयशंकर साह र जग्गा दाता रहमानियाको सालिक निर्माण गरी सकेसम्म दुई महिनाभित्र अनावरण गरिनेछ।

३. आय-व्यय विवरण सार्वजनिक — बरहथवा नगरपालिकाको चालु आर्थिक वर्षसहित विगत दुई वर्षको आय-व्यय विवरण नियमानुसार सार्वजनिक गरिनेछ।

४.रातो किताबमा पहुँच — माग गरिएमा रातो किताब (वित्तीय विवरण) व्यक्ति वा संस्थालाई तत्काल उपलब्ध गराइनेछ।

५. अस्पताल निर्माण बजेटमा पारदर्शिता — अख्तियारले नियन्त्रणमा लिएका कागजातहरूमा छानबिन सम्पन्न भएपछि अस्पताल निर्माणमा खर्च भएको बजेट सार्वजनिक गराउन सबै पक्षले पहल गर्ने सहमति भएको छ।

नगरपालिकाको सभाहलमा सम्पन्न सहमति वार्तामा मेयर कल्पना कुमारी कटुवाल, उपमेयर रामबाबु प्रसाद साह, वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरञ्जन भट्टराई, जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादव, उद्योग वाणिज्य संघका महासचिव अमरनाथ सोनी, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले सहमति कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि उत्पन्न तनावपछिको सरकारी सहमति कार्यान्वयन नभएको भन्दै सिंहले अनशन सुरु गरेका थिए।

उनले अस्पतालको नामाङ्करण, सालिक निर्माण, निःशुल्क औषधि उपलब्धता, आय-व्यय सार्वजनिकता र बजेट पारदर्शिताको माग राख्दै आमरण अनशन गरेका थिए।

प्रतिक्रिया