सर्लाही ।सर्लाहीको ब्रम्हपुरी गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट ९विओपी० सखुवबामा कार्यरत सुरक्षाकर्मीहरू आफनो पदीय जिम्मेवारी विपरीत तस्करीमा संलग्न भएको एक भिडियो सार्वजनिक भएपछि ठूलो तहल्का मच्चिएको छ ।
सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने, चोरी–तस्करी रोक्ने, राजस्व वृद्धिमा सहयोग गर्ने, स्तम्भहरूको निगरानी गर्ने लगायतका जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको भए पनि त्यसकै उल्टो कार्य गरी आर्थिक लाभमा रमाएको प्रमाण भेटिएको हो ।
नेपालको सुरक्षालाई मजबुत बनाउन खटाइएको विओपी कार्यालय अहिले तस्करहरूसँग साँठगाँठ गर्ने अखडा बनेको आरोप लगाइएको छ । यसमा सई प्रमुख दोषी रहेको र उनले रकम असुलीका लागि हवलदार सुमन चौधरीलाई घुमुवा परिचालन गरेको स्थानीयवासीहरूले बताएका छन् ।
भदौं ८ गते राति १२ बजे सुमन चौधरीले तस्करीमा संलग्न व्यापारीसँग २२ हजार रुपैयाँ नगद असुल गरेको भिडियो प्रमाण सार्वजनिक भएको छ । सो रकम सईकै आदेशमा उठाइएको बताइएको छ ।
रातको समयमा तस्करीको लहर
स्रोतका अनुसार राति ११ बजेदेखि ३ बजेसम्म पिकअप गाडीमार्फत नेपालबाट काठ, चिनियाँ मोटरसाइकल, स्याउ, मदिरा र भारतबाट दैनिक उपभोग्य सामग्री, कपडा, स्पेयर पार्ट्सलगायतको ओसार–पसार भैरहेको छ । तर सामान्य नागरिक भने सीमाबाट आउजाउ गर्दा विभिन्न बहानामा दुःख पाउँदै आएका छन् ।
भारतको सीतामढी जिल्ला इनर्वा नाका हुँदै सक्रिय तस्कर समूहलाई सशस्त्र प्रहरीकै संरक्षण मिलिरहेको देखिएको छ । सुरक्षाकर्मीहरूले कडाई गर्ने सट्टा तिनै तस्करसँग आर्थिक लाभ लिने प्रलोभनमा सीमाक्षेत्र असुरक्षित बन्दै गएको हो ।
गणपतिद्वारा कारबाहीको आश्वासन
सशस्त्र सीमा बल नेपाल नं। १० गणका गणपति एवं एसपी देव बहादुर चन्दले सो घटनाबारे प्रारम्भिक जानकारी मिल्दै सखुवबा विओपीमा कार्यरत सई र हवलदारलाई गणमा तानेर आवश्यक अनुसन्धान थालिएको र कारबाही हुने बताएका छन् । तर सीमाक्षेत्रमा भइरहेको ठूलो तस्करीबारे भने उनले कुनै टिप्पणी गर्न चाहेनन् ।
तस्करीको जरो सर्लाहीमै
सर्लाहीको छनकीदेखि सग्राम्पुरसम्मका सीमाक्षेत्र नाकाबाट निरन्तर तस्करी भइरहेको छ । यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका जिम्मेवार निकायकै मिलेमतो देखिएको छ । सार्वजनिक भिडियो क्लिपले सर्लाहीमा तस्करीको जरो कति गहिरो छ भन्ने पुष्टि गरेको छ ।
क्षेत्रीय प्रशासनिक अधिकारीहरूसमेत लक्ष्मिकान्तमा रमाउनमा व्यस्त भएको आरोप स्थानीयले लगाएका छन् । अपराध बढ्दै गएको मधेश प्रदेशमा तस्करी नियन्त्रण गर्न नसकिए तराई–मधेशका जनतालाई अझै असुरक्षित बनाउने खतरा बढेको सरोकारवालाहरूको भनाइ छ ।