सर्लाही, चन्द्रनगर | वर्षौं देखिको शिक्षक अभावलाई सम्बोधन गर्दै चन्द्रनगर गाउँपालिकाले एक ऐतिहासिक निर्णय गर्दै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका लागि ३८ जना स्वयंसेवक शिक्षकहरूको नियुक्ति गरेको छ। आज एक औपचारिक कार्यक्रममार्फत उनीहरूलाई नियुक्तिपत्र वितरण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार, लामो समयदेखि समुदायिक विद्यालयहरूमा शिक्षण सिकाइको गुणस्तर खस्कँदो अवस्थामा रहेको तथा शिक्षक अभावले विद्यार्थीहरू प्रताडित भइरहेका बेला यो निर्णय अत्यन्तै चुनौतीपूर्ण तर आवश्यक कदमको रूपमा अघि सारिएको हो।
“शिक्षा क्षेत्रमा सुधार ल्याउन हामी प्रतिबद्ध छौं। शिक्षकको अभावकै कारण विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अब अन्त्यको दिशामा छ,” अध्यक्ष महतोले भने।
नियुक्त गरिएका ३८ जना स्वयंसेवक शिक्षकमध्ये ३३ जना महिला रहेका छन्। यसका साथै, २ जना अपांगता भएका व्यक्ति, २ जना दलित समुदायका र १८ जना जनजाति समुदायका शिक्षकहरू छन्। यसले स्थानीय तहमा समावेशीता र समान अवसरको सुनिश्चितताप्रति गाउँपालिकाको दृष्टिकोण स्पष्ट पारेको छ।
स्थानीय विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा नागरिक समाजको समेत सहकार्यमा यो निर्णय कार्यान्वयन गरिएको हो। गाउँपालिकाले आगामी दिनमा शिक्षकहरूको क्षमता अभिवृद्धि, तालिम, मूल्याङ्कन र प्रेरणा प्रणाली समेत सञ्चालन गरिने जनाएको छ।
यस निर्णयपछि चन्द्रनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उपस्थितिमा वृद्धि, सिकाइको स्तरमा सुधार र समुदायको विश्वास पुनः स्थापित हुने अपेक्षा गरिएको छ।