एसपी यादव/सर्लाही, साउन १८ गते।
जनता समाजवादी पार्टी (जसपा) सर्लाही जिल्ला कार्यसमितिद्वारा आइतबार कबिलासी नगरपालिका–१०, सलेमपुरमा आयोजित पत्रकार सम्मेलनमा जसपाका मधेस प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवले सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कासँगको फोन संवाद सार्वजनिक भएको अडियोको फोरेन्सिक परीक्षण गर्न माग गरेका छन्।
नेता यादवले दाबी गरेअनुसार, असार १९ गते राति ११ बजे मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भइरहेको अनियमितता र बेथिति सम्बन्धी विषयमा एसपी खड्कासँग भएको टेलिफोन संवादको अडियो सार्वजनिक भइसकेको छ, जसमा आफूलाई एसपीले अपशब्द प्रयोग गर्दै ‘साले’ भनेको प्रष्ट सुनिन सकिने बताए।
“यो अडियोले प्रहरी प्रशासनको चरित्र उदांगो पारेको छ”
पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले भने — “राज्य संयन्त्रमा पदको दुरुपयोग, शक्ति प्रदर्शन र जातीय घृणाको प्रवृत्तिलाई यस अडियोले पुष्टि गर्छ। यसको निष्पक्ष न्यायिक छानबिन हुनुपर्छ। दोषीमाथि तत्काल कारबाही गर्न म प्रदेश सरकार, संघीय सरकार र गृह मन्त्रालयलाई आग्रह गर्दछु।”
उनले यसअघि नै जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई बेथितिको जानकारी गराएको भए पनि प्रहरी प्रशासनबाट अपमानित हुनुपरेको उल्लेख गरे।
“घरमा छापा, छोरामाथि कुटपिट — प्रहरी दमनको पराकाष्ठा”
नेता यादवले आफू असार १९ गते राति सर्लाहीमै रहेको बेला प्रहरीले कानुन विपरित आफ्नै घरमा छापा मारेको र त्यस क्रममा छोरालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लगाए।
“छोरा अहिले अस्पतालमा उपचाररत छन्, म भने प्रहरी दमनको पीडित बनेको छु,” यादवले भने।
उनले आफूलाई फरार घोषणा गरी केही ‘नश्लवादी मिडिया’ मार्फत गलत प्रचार गरिएको आरोप पनि लगाए।
“म छोरा उपचार गराइरहेको थिएँ, तर प्रहरीले म फरार छु भनेर मिडियामा प्रचार गर्यो — यो मधेसीमाथिको निरन्तर दमनको उदाहरण हो।”
“भ्रष्टाचारको विरुद्ध संघर्ष जारी रहनेछ”
पत्रकार सम्मेलनमा उनले मलंगवास्थित पूर्वाधार विकास कार्यालयबाट विपन्न परिवारका नाममा छुट्याइएको रकम निकासा गर्नुअघि प्रति परिवार ५० हजार रुपैयाँ घुस मागिएको गम्भीर आरोपसमेत लगाए।
“भ्रष्टाचारको विरुद्ध लडिरहने प्रण लिएको छु, सुशासन र न्यायको पक्षमा म पछि हट्नेवाला छैन,” नेता यादवले कड्किए।
“लाठी जुलुस र कानुनी संघर्ष दुवैबाट प्रतिकार गर्नेछु”
नेता यादवले साउन २० गते मलंगवामा विशाल लाठी जुलुसको आयोजना गरिने जानकारी दिए।
“आफूमाथि लगाइएको झूठा मुद्दा बदनियतपूर्ण छ, त्यसविरुद्ध कानुनी संघर्ष गर्नेछु। प्रहरी प्रशासनद्वारा चलाइएको भ्रष्टाचारको अखाडा अब समाप्त गर्नुको विकल्प छैन,” उनले चेतावनी दिए।
पत्रकार सम्मेलनमा जसपा सर्लाहीका जिल्ला पदाधिकारीहरू, स्थानीय नेताहरू, मानव अधिकारकर्मीहरू, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।