देश टपसम्मको यात्रा : सर्लाहीका सुरज अधिकारीको प्रेरणादायी सफलता

newsdesk

एसपी यादव । बाबु रामपुजन राय र आमा धर्मशिला कुमारी यादवको कोखबाट वि.सं. २०६४ साल चैत २१ गते काठमाडौंमा जन्मिएका सुरज अधिकारी आज सम्पूर्ण देशभरका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

सर्लाहीको ग्रामीण भेगबाट आएका सुरजले राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ साउन १९ गते प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायमा ३.९६ जीपीए ल्याउँदै देशभर टप गर्ने गौरव हासिल गरेका छन् । उनकाे याे उपलब्धि सम्पूर्ण देशकै लागि गर्वको विषय बनेको छ ।


सुरजको निरन्तर मेहनत, लगनशीलता र अध्ययनप्रतिको निष्ठाले आज राष्ट्रभरका विद्यार्थी र अभिभावकहरूलाई प्रेरित बनाएको छ । विशेषगरी सर्लाहीजस्ता ग्रामीण भेगबाट आएका विद्यार्थीले देशमै टप गर्नुले नेपालको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । राजधानी केन्द्रित शैक्षिक सफलताको मान्यतालाई तोड्दै सर्लाहीका सुरजले देश टप गरेर एक अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।


यद्यपि सुरज स्थायी रूपमा सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका–२ का बासिन्दा हुन्, उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका छन् । सुरजले कक्षा १२ सम्मको अध्ययन लिभरपूल इन्टरनेशनल कलेज, नयाँ बानेश्वरबाट गरेका हुन् भने कक्षा १० (एसईई) अक्सिडेन्टल पब्लिक स्कूल, अनामनगरबाट ३.८५ जीपीएसहित उत्तीर्ण गरेका थिए ।


सुरजको यात्रा सजिलो थिएन । मध्यम वर्गीय पारिवारिक पृष्ठभूमिबाट आएका उनले बाल्यकालदेखि नै अनुशासन, नियमितता र कठोर परिश्रमलाई आफ्नो दिनचर्याको अंग बनाएका थिए । मोबाइल, सामाजिक सञ्जालजस्ता ध्यान विचलित गर्ने माध्यमहरूबाट टाढा रहँदै, उनले हरेक सानो मौकालाई सिकाइको अवसरका रूपमा उपयोग गरे ।


सुरज भन्छन्, "मैले कहिल्यै प्रतिस्पर्धा अरूसँग होइन, आफैंसँग गरेँ । आजको म हिजोभन्दा राम्रो बन्न सक्छु भन्ने सोच नै मेरो लागि मूल प्रेरणा बन्यो । लक्ष्यमा अडिग रहेँ, परिणाम आज आफैंले बोलेको छ ।"


"सफलता जन्मिँदैन, निर्माण गरिन्छ" भन्ने भनाइलाई सार्थक बनाउँदै, सुरज अधिकारीले देखाएको अनुशासन, परिश्रम र क्षमताले सम्पूर्ण नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनाएको छ । प्रारम्भदेखि नै अध्ययनप्रति गहिरो रुचि राख्ने सुरजले एसईईदेखि प्लस टु सम्म निरन्तर उत्कृष्टता कायम राख्दै अन्ततः विज्ञान संकायका हजारौं विद्यार्थीलाई पछि पार्दै देश टप गर्न सफल भएका हुन् ।


आज उनी सम्पूर्ण देशभरका लाखौं विद्यार्थीहरू माझ एक विलक्षण प्रतिभाका रूपमा चिनिएका छन् ।


सुरजको सफलता सर्लाही जिल्लाको मात्र नभई सम्पूर्ण मधेस र देशकै शैक्षिक क्षितिजमा उज्यालो तारा बनेर चम्किएको छ ।


भविष्यमा उनी चार्टर्ड एकाउन्टेन्सी अध्ययन गर्न चाहन्छन् । नेपालमै रहेर समाज र देशका लागि केही गर्ने अठोट उनीसँग छ ।


सुरजको सफलताले परिवार, कलेज, जिल्लावासी मात्र होइन, सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ । उनलाई विभिन्न संघ–संस्थाहरू, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरूबाट बधाई तथा शुभकामना प्राप्त भइरहेका छन् । सुरजको भविष्य अझ उज्यालो रहोस् भन्ने कामनासहित, सर्लाहीबासीसहित सम्पूर्ण देशले यो सफलतालाई हर्षका साथ स्वागत गरेको छ ।


प्रतिक्रिया