सर्लाही, असोज ३ । भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा बरहथवा नगरपालिका–६ वडा कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि सेवा ठप्प भएको थियो।
आगजनीका कारण कम्प्युटर, ल्यापटप, प्रिन्टर, दराज, फाइल, कुर्सी, पंखा, सोफा, कुलर, इन्भर्टर, ब्याट्रीलगायतका सम्पूर्ण सामान खरानी बनेका थिए। यसले वडा कार्यालयका सबै सेवाहरू प्रभावित बनेका थिए।
तर स्थानीयवासीको सहयोगमा वडा कार्यालय पुनः सञ्चालनमा आएको छ। वडा बासीहरूले सहयोगस्वरूप ल्यापटप, प्रिन्टर, कुर्सी, पंखा लगायतका आधारभूत सामग्री उपलब्ध गराइ दिएका छन्।
हाल नयाँ भवनको व्यवस्था नभएसम्म कार्यालय पहिलेकै स्थानबाट सेवा दिन थालेको वडा कार्यालयले जनाएको छ।
आज बिहान वडा बासीहरू भेला भई सरसफाइ गर्दै कार्यालय पुनः सञ्चालनको तयारी गरेका थिए। वडा अध्यक्ष मो. आफताब आलम (मिस्टर) को नेतृत्वमा भएको यस प्रयासप्रति स्थानीयवासीले एकताको उदाहरण प्रस्तुत गरेको बताएका छन्।
अध्यक्ष आलमले जनताको साथ र सहयोगकै कारण कठिनाइबीच पनि सेवा निरन्तर गर्न सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित कार्यालय निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।