चन्द्रनगरले अतिक्रमित सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न दोश्रो पत्र जारी

newsdesk

सर्लाही, चन्द्रनगर — चन्द्रनगर गाउँपालिकाले गाउँपालिका–६ कामदका लोकेन्द्र मुखियालाई अतिक्रमित सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न दोश्रो पटक लिखित निर्देशन जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीबाट प्राप्त आदेश अनुसार साविक चन्द्रनगर गाविस–८ को किता नं. १४०, चन्द्रनगर–३ क किता नं. ९२ र साविक बबरगंज गाविस–४ ग किता नं. ४५ मा पर्ने सरकारी सार्वजनिक जग्गा मुखियाले पोखरी खनेर, डिल बनाइ, माछापालन गरी घर–टहरा निर्माण गर्दै व्यक्तिगत रूपमा प्रयोग गर्दै आएको प्रमाणित भएको गाउँपालिकाले जनाएको छ।

अख्तियार ऐन, २०४८ को दफा २८ बमोजिम अतिक्रमण हटाउन आयोगले निर्देशन दिएपछि गाउँपालिकाले यसअघि २०८२ भदौ ९ मा पहिलो पत्र पठाएर १५ दिनभित्र सबै संरचना हटाई जग्गा साविककै स्वरूपमा पुनःस्थापना गर्न सूचित गरेको थियो।

तर सो पत्र बुझाउन कार्यालय सहयोगी पुगेका बेला मुखियाले बुझ्न अस्वीकार गरेको र पुनः हुलाक सेवा मार्फत पठाइएका पत्रसमेत लिन नमानेको गाउँपालिकाले उल्लेख गरेको छ।

यसपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोले पुनः १५ दिनभित्र पोखरी, डिल, माछापालन, घर–टहरा लगायत सबै संरचना हटाएर जग्गा खाली गर्न दोश्रो पत्र जारी गरेका छन्।

गाउँपालिकाले दिएको समयसीमा भित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही अघि बढाइने चेतावनी पनि पत्रमा उल्लेख छ।


प्रतिक्रिया