जनकपुरधाममा पत्रकारमाथि अधिवक्ताहरूको आक्रमण, दोषीमाथि कडा कारबाहीको माग

newsdesk

जनकपुरधाम, मधेश प्रदेश — नेपाल पत्रकार महासंघले जनकपुरधाममा आफ्ना पदाधिकारीसहितका पत्रकारमाथि भएको अधिवक्ताहरूको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।

महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको ठूलो आक्रमणको संज्ञा दिँदै केन्द्रीय बार र बार काउन्सिलमार्फत संलग्न अधिवक्तामाथि कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

स्वर्गद्वारी छेउको लिजमा लिएको जग्गा घेराबार गर्ने क्रममा बार एसोसिएसन जनकपुरका केही पदाधिकारी र अधिवक्ताहरूले आक्रमण गर्दा चार पत्रकार घाइते भएका छन्। घाइतेमध्ये पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेर अवस्था नाजुक छ भने महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा दुई स्थानमा भाँचिएको छ। महिला उपाध्यक्ष ज्योती झा र पत्रकार विनिता यादवमाथि समेत दुर्व्यवहार र हातपात भएको आरोप छ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारालाई समेत लक्षित गरेर आक्रमण भएको भए पनि उनको अवस्था सामान्य रहेको छ।

मधेश प्रदेश समितिले संलग्न अधिवक्ताहरूको ‘अदालत हाम्रो खल्तीमा छ, हामी जे भन्छौं त्यही हुन्छ’ भन्ने धम्कीपूर्ण व्यवहारको कडा भर्त्सना गर्दै नेपाल सरकारले विशेष छानबिन समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।


प्रतिक्रिया