जसपा नेता यादव माथि लगाइएको झुठा मुद्दा खारेजीको माग गर्दै मलंगवामा प्रदर्शन

newsdesk

सर्लाही, असार २० –जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले लगाएको झुठा र राजनीति प्रेरित मुद्दा खारेजीको माग गर्दै सर्लाहीको मलंगवामा शुक्रबार विरोध प्रदर्शन गरिएको छ।

मध्यान्हदेखि सुरू भएको प्रदर्शनमा जसपाका कार्यकर्ता, स्थानीयवासी, युवा र महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। “अशोक यादव निर्दोष छन्”, “राजनीतिक प्रतिशोध बन्द गर”, “भ्रष्टाचारविरुद्ध बोल्नेको मुख थुन्न पाइँदैन” लगायत नारासहित प्रदर्शनकारीहरूले सदरमुकाम मलंगवाको मुख्य बजार परिक्रमा गरेका थिए।

प्रदर्शनका क्रममा स्थानीय नेताहरूले प्रहरी प्रशासनले राजनीति प्रेरित ढंगले मुद्दा लगाएको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्।

पूर्व सांसद अशोक यादवले केही दिनअघि सर्लाहीको पूर्वाधार विकास कार्यालयमा भइरहेको अनियमितता, उपभोक्तासँग मागिएको घूस, र प्रहरीको संलग्नताबारे आवाज उठाएका थिए। त्यही विषयमा जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र खड्कासँग फोन संवादमा गालीगलौज भएको थियो, जसलाई आधार बनाई प्रहरीले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ।

यस घटनापछि बिहीबार राति यादवको घरमा प्रहरी टोली पुग्दा स्थानीयसँग झडप भएको थियो। प्रहरीको गाडीमा तोडफोडसमेत भएको बताइएको छ। यादव हाल फरार रहेको प्रहरीले जनाएको छ।

सर्लाहीसहित जसपाका धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा लगायत विभिन्न जिल्लास्तरीय समितिहरूले एकपछि अर्को गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पूर्व सांसद यादवमाथि लगाइएको मुद्दाको विरोध जनाएका छन।

सर्लाही जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पूर्वाग्रही ढंगले अशोक यादवलाई फसाउने प्रयास गैर–लोकतान्त्रिक र निन्दनीय छ। मुद्दा फिर्ता नभए कडा आन्दोलन हुनेछ।”

प्रेस विज्ञप्तिमा प्रहरीले यादवको घरमा मध्यराति “चोर शैलीमा” प्रवेश गर्ने प्रयास गरेको, महिलामाथि दुव्र्यवहार भएको र संविधानसम्मत अधिकारहरू कुण्ठित गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।

पूर्व सांसदमाथिको मुद्दा र त्यसपछि भएको विरोध प्रदर्शनले सर्लाहीको राजनीतिक वातावरण तातेको छ। जसपा नेतृत्वले आन्दोलनलाई प्रदेशव्यापी बनाउने संकेत दिएको छ भने स्थानीयवासीहरूले प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया